• ecollegemodel.com :- To publish advertisement, college events, news in this site please contact us: 01-4444835 |

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको यात्रा


मिस वल्र्ड, मिस अर्थ, मिस एसिया प्यासिफिक, मिस इन्टरनेसनल, वल्र्ड मिस युनिभर्सिटी, मिस टुरिज्म क्विन इन्टरनेसनल, म्यानहन्ट इन्टरनेसनल। यी हुन् प्रतिभा र सुन्दरता मापनका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू जसमा नेपाली युवायुवतीले समयको विभिन्न कालखण्डमा नेपालका तर्फबाट प्रतिनिधित्व जनाउँदै आएको पाइन्छ। पछिल्लो समयमा ब्युटी अफ द वल्र्ड, मिस ग्लोबल ब्युटी क्विन, मिस इन्डिया वल्र्ड वाइड, लिटिल मिस वल्र्डजस्ता प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व हुन थालेको छ। मिसेज वल्र्ड, मिसेज ग्लोबल, मिस प|mेन्डसीप अफ द वल्र्ड, मिस्टर एण्ड मिस युनिभर्सिटी इन्टरनेसनल, ग्राभिएरा मिस्टर इन्टरनेसनलमा पनि नेपालका तर्फबाट एकाध पटक सहभागिता जनाइएको पाइन्छ।
सन् १९९४ सेप्टेम्बर २० तारिख नेपालको सन्दर्भमा ‘ब्युटी विथ ब्रेन’ छान्ने सौन्दर्य प्रतियोगिताको थालनी भएको ऐतिहासिक दिन हो जसमा ‘मिस नेपाल’ शीर्षकमा नेपालको पहिलो सौन्दर्य प्रतियोगिताले विधिवत् रूपमा श्री गणेश गर्‍यो। काठमाडौं जेसिसले आफ्नो स्थापनाको रजत जयन्ती वर्षको अवसर पारेर सन् १९९४ मा आयोजना गरेको पहिलो मिस नेपाल प्रतियोगितामा विजेता बनिन्-रुबी राणा। उनको शिरमा सजियो प्रथम मिस नेपालको ताज र उनले नै सबैभन्दा पहिले एसिया प्रशान्त क्षेत्रको सौन्दर्य प्रतियोगिता
‘मिस एसिया प्यासिफिक’ मा नेपालको प्रतिनिधित्व गरिन्। त्यसो त अन्तर्राष्ट्रिय ब्युटी विथ ब्रेन छान्ने प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व भएको यो नै सबैभन्दा पहिलो अवसर भने थिएन। पहिलो मिस नेपाल प्रतियोगिता आयोजना हुनुभन्दा चार वर्ष पहिले नै अर्थात् सन् १९९० मा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व भैसकेको थियो।

त्यो इतिहास कोर्ने कार्य गरेकी थिइन्-सिर्जना योञ्जनले -अहिले सिर्जना सिंह योञ्जनका नामबाट परिचित)। उनले त्यतिबेला दक्षिण कोरियाको सिउलमा भएको वल्र्ड मिस युनिभर्सिटी शीर्षकको प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी थिइन् जसमा उनले मिस ट्यालेन्टको अवार्ड पनि जितेकी थिइन्। त्यो वल्र्ड मिस युनिभर्सिटी प्रतियोगिताको चौथौं संस्करण थियो जसमा विश्वका विभिन्न मुलुकका ७३ जना युवतीको सहभागिता थियो। वल्र्ड मिस युनिभर्सिटीकै पाँचौं संस्करण अर्थात् सन् १९९१ को प्रतियोगितामा भने नेपालका तर्फबाट हनी रौनियार र सनी रौनियार दिदीबहिनीको एकसाथ सहभागिता रह्यो। त्यसपछि १९९२ मा पद्मा हीराचन, १९९५ मा विनीता जोशीले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे। त्यसपछि ५ वर्षको अन्तरालमा अर्थात् सन् २००० को वल्र्ड मिस युनिभर्सिटीमा नेपालको तर्फबाट प्रभा अमात्यले सहभागिता जनाइन्। त्यसपछि सन् २००३ मा मात्र नेपालको उक्त प्रतियोगितामा प्रतिनिधित्व हुनसक्यो। दक्षिण कोरियामै सम्पन्न वल्र्ड मिस युनिभर्सिटी-२००३ को मुख्य उपाधिमाथि भने नेपालको कब्जा रह्यो अर्थात् प्रतियोगितामा सहभागिता जनाएकी आयुषा श्रेष्ठले ‘वल्र्ड मिस युनिभर्सिटी-२००३’ को ताज पहिरिन्। हालसम्म नेपालले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूमा जनाएको उपस्थितिमध्ये सबैभन्दा महत्वपूर्ण र पहिलो उपलब्धि नै आयुषा श्रेष्ठले उक्त प्रतियोगितामा आर्जन गरेको सफलता हो। उक्त प्रतियोगितामा आयुषापछि सन् २००५ मा पूजा बस्नेत, २००६ मा उषा रजक, २००७ मा आयुषा कार्की र २००८ मा पि्रयंका पोखरेलले प्रतिनिधित्व गरेका थिए।
सन् १९९० मा सिर्जना योञ्जनको यात्राबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको सहभागिताको थालनी भएको मितिबाट पछिल्लो पटक मिस नेपाल २०११ का टप थ्री विजेताहरू मलिना जोशी, अनुपमा गुरुङ र सरिना मास्केको क्रमशः मिस वल्र्ड, मिस अर्थ र मिस इन्टरनेसनल-२०११ को यात्राअवधिलाई नियाल्ने हो भने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति भएको दुई दशक पूरा भएको देखिन्छ। यसबीच झन्डै ६ दर्जन युवतीले विभिन्न प्रतियोगितामार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिसकेका छन्। यद्यपि उल्ल्ोखनीय उपलब्धि भने एकाध मात्र हात परेको छ। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा महत्वपूर्ण मानिने मिस वल्र्ड, मिस अर्थ, मिस एसिया प्यासिफिक तथा मिस इन्टरनेसनलमा नेपाली सुन्दरीहरूको प्रतिनिधित्व हुने अवसर मिस नेपाल प्रतियोगिता प्रारम्भ भएयता जुरेको पाइन्छ। सन् १९९४ मा प्रथम मिस नेपालमा छानिएकी रुवी राणाले त्यतिखेर फिलिपिन्समा सम्पन्न मिस एसिया प्यासिफिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। त्यसपछि मिस नेपाल उपाधि विजेताले एसिया प्यासिफिकमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउँदै गए। १९९७ मा ‘द हिडेन ट्रेजर’ नामक संस्थाको उदयसँगै पहिलो मिस वल्र्ड नेपाल कार्यक्रम सम्पन्न भयो जसको विजेता नेपाल सुन्दरीले मिस वल्र्ड प्रतियोगितामा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गरिन्। यस दृष्टिबाट मिस वल्र्ड प्रतियोगितामा नेपाललाई उभ्याउने प्रथम युवती बनिन्-झरना बज्राचार्य। उनी मिस वल्र्ड नेपाल-१९९७ की विजेता थिइन्। सोही वर्ष आयोजित मिस नेपाल प्रतियोगिताकी विजेता नीलिमा गुरुङले भने मिस एसिया प्यासिफिकमा सहभागिता जनाएकी थिइन्। वर्ष १९९८ मा काठमाडौं जेसिसको सहभागितामा द हिडेन ट्रेजरले मिस नेपाल प्रतियोगितालाई निरन्तरता दियो। मिस नेपाल प्रतियोगिताकी विजेताले मिस वल्र्ड तथा फस्ट रनर अपले मिस एसिया प्यासिफिक प्रतियोगितामा सहभागिता जनाउने परम्पराले गति पायो। जसअन्तर्गत १९९८ की मिस नेपाल ज्योति प्रधानले मिस वल्र्डमा र उप विजेता निरु श्रेष्ठले मिस एसिया प्यासिफिकमा सहभागिता जनाए। मिस वल्र्ड प्रतियोगितापछि ज्योति अमेरिकामै बसेर नेपाल नफर्केकाले उनको ताज खोसियो र निरु श्रेष्ठलाई मिस नेपाल-१९९८ का रूपमा बढुवा गरियो। यो परम्परा सन् २००३ सम्म कायम रह्यो। सन् २००४ देखि भने मिस नेपाल प्रतियोगिताकी सेकेन्ड रनरले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुने अवसर पाउने थाले। सन् २००४ मा थालनी भएको यो परम्पराको पहिलो भाग्यमानी बनिन्-मिस नेपाल-२००४ की सेकेन्ड रनर अप  अनिता गुरुङ। उनले सन् २००४ मा फिलिपिन्समा सम्पन्न मिस अर्थमा नेपालको प्रतिनिधित्व गरिन्। त्यसो त मिस अर्थमा सहभागिता जनाउने अनिता प्रथम नेपाली युवती भने होइनन्। सन् २००२ मा काठमाडौंमा सम्पन्न साफी क्विनकी विजेता नीरा गौतमले पहिलो पटक सन् २००२ मा मिस अर्थमा नेपालका तर्फबाट पहिलो सहभागिता जनाएकी थिइन् । मिस नेपाल-२००४ सँगै विजेताले मिस वल्र्डमा, फस्ट रनर अपले मिस एसिया प्यासिफिक  तथा सेकेन्ड रनर अपले मिस अर्थमा सहभागिता जनाउने परम्पराले गति लियो। सन् २००४ मा मिस एसिया प्यासिफिक प्रतियोगिता संचालनमा आउन सकेन  र सन् २००५ मा उक्त प्रतियोगिता मिस एसिया प्यासिफिक इन्टरनेसनलका रूपमा परिणत भयो। यसअघि एसिया प्रशान्त क्षेत्रको प्रतियोगिताका रूपमा परिचित उक्त प्रतियोगिता त्यसपछि एसिया प्रशान्त क्षेत्रको दायरा बाहिर गयो। मिस एसिया प्यासिफिक इन्टरनेसनल-२००५ मा भने मिस नेपाल-२००४ फस्ट रनर अप सराह गुरुङले सहभागिता जनाइन्। सन् २००६ मा मिस नेपाल प्रतियोगिता संचालन हुन सकेन। यद्यपि मिस नेपाल-२००५ की सेकेन्ड रनर अप आयुष्मा पोखरेलले मिस अर्थ-२००६ मा  सहभागिता जनाइन्। सन् २००७ देखि भने मिस नेपाल फस्ट रनर अपले मिस अर्थमा तथा सेकेन्ड रनरले मिस एसिया प्यासिफिक इन्टरनेसनलमा सहभागिता जनाए। यो परम्पराले २००९ को मिस नेपाल प्रतियोगितासम्म निरन्तरता प्राप्त गर्‍यो। त्यसपछि २०१० को मिस नेपाल प्रतियोगिता विजेताले मिस वल्र्ड, फस्ट रनर अपले मिस अर्थ तथा सेकेन्ड रनर अपले मिस इन्टरनेसनलमा सहभागिता जनाउने कार्यको थालनी भयो। जसअनुसार मिस नेपाल-२०१० को सेकेन्ड रनर अपका रूपमा संयुक्ता तिम्सिनाले मिस इन्टरनेसनलमा सहभागिता जनाइन्। मिस इन्टरनेसनल प्रतियोगितामा नेपालका तर्फबाट यो नै पहिलो सहभागिता भने थिएन। यसअघि सन् २००० मा उमा बोगटी तथा २००५ मा निशा अधिकारीले उक्त प्रतियोगितामा नेपालका तर्फबाट प्रतिस्पर्धा गरेका थिए । अन्य प्रतियोगितामा उपस्थिति मिस नेपाल प्रतियोगिताका विजेता तथा उपविजेता मात्र नभई अन्य प्रतियोगिताका विजेताहरूले पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको पाइन्छ। तीमध्ये ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जि.ई.ई. नामक संस्थाको सक्रियता उल्लेखनीय छ। पुरुष सुन्दरता तथा प्रतिभा मापनको अन्तर्राष्ट्रिय प्रतियोगिता म्यानहन्ट इन्टरनेसनलमा नेपालको सहभागिताका लागि नेपालमा म्यानहन्ट इन्टरनेसनल नेपाल शीर्षकको प्रतियोगिताको थालनी जि.ई.ई.ले सन् २००३ मै गरेको हो। जसबाट पहिलो म्यानहन्ट इन्टरनेसनल नेपाल बने सुहृद ज्योति र उनले म्यानहन्ट इन्टरनेसनल-२००३ मा नेपालको प्रतिनिधित्व गरे। त्यसो त त्यसभन्दा पहिले नेपालका तर्फबाट म्यानहन्ट इन्टरनेसनलमा सन् १९९५ तिरै प्रशान्त ताम्राकारले उपस्थिति जनाएका थिए। त्यसैले अन्तर्राष्ट्रिय स्तरको पुरुष सौन्दर्य तथा बौद्धिकताको प्र्रतियोगितामा पहिलो प्रतिस्पर्धा गर्ने नेपाली युवा हुन्-प्रशान्त ताम्राकार। सन् २००३ पछि जि.ई.ई.ले औपचारिक रूपमा म्यानहन्ट इन्टरनेसनल नेपाललाई यसै वर्ष मात्र निरन्तरता दिएको छ। यस वर्ष नेपालमा आयोजित प्रतिस्पर्धाबाट निर्जन थापा म्यानहन्ट इन्टरनेसनल नेपालका रूपमा छनोट भएका थिए। यसबीच आन्तरिक छनोटबाट चन्दन अग्रवाल, रिकेश श्रेष्ठ तथा कनिज कोइरालाले म्यानहन्ट इन्टरनेसनलमा प्रतिनिधित्व गरेका थिए। यसैगरी जि.ई.ई.ले नै सन् २००५ देखि मिस टुरिज्म क्विन इन्टरनेसनल नेपाल शीर्षकको प्रतियोगिताको थालनी गरेको थियो। प्रथम मिस टुरिज्म क्विन इन्टरनेसनल नेपालका रूपमा सन् २००५ मा सिसेलिया गुरुङले मिस टुरिज्म क्विन इन्टरनेसनल-२००५  सहभागिता जनाएकी थिइन्। त्यसपछि मिस टुरिज्म क्विन इन्टरनेसनल प्रतियोगितामा कुन्छाङ मोक्तान, हेमा श्रेष्ठ, ऋचा थापा मगर तथा समृद्धि राईले सहभागिता जनाइसकेका छन्।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउने क्रममा सुमित्रा के.सी.जोशीले मिसेज वल्र्ड-१९९९ मा, मीरा बस्नेतले मिसेज इन्टरनेसनल-१९९९ मा, पूजा गिरीले मिसेज ग्लोबल-२००५ मा उपस्थिति जनाएका थिए। विभा प्रजापतिले ब्युटी अफ द वल्र्ड-२००८ तथा निकोल शाही मिस प|mेन्डसीप अफ द वल्र्डमा सहभागिता जनाएका थिए। परीक्षित प्रधान तथा अनुप सक्सेनाको नाम भारतमा सम्पन्न ग्राभिएरा मिस्टर इन्टरनेसनलमा सहभागिता जनाएका नेपाली युवाको सूचीमा पर्छ। यसैगरी मिस्टर एण्ड मिस युनिभर्सिटी इन्टरनेसनलमा पनि नेपालको प्रतिनिधित्व भएको देखिन्छ। जसअन्तर्गत सन् २००० मा देशराज पाण्डे र सावित्री पौडेलले सहभागिता जनाएका थिए। सोही प्रतियोगितामा नीरज बराल र दिव्या ढकालले २००६ मा,  हेमबुङ राई र स्वेच्छा अधिकारीले २००७ मा सहभागिता जनाएका थिए। उक्त प्रतियोगिताको सन् २००४ को संस्करणमा सहभागिता जनाएका नितेश कार्कीले स्पेशल अवार्ड प्राप्त गरेका थिए भने नीरज बरालले २००६ को मिस्टर युनिभर्सिटी इन्टरनेसनलको उपाधि जितेका थिए ।यसैगरी नेपलिज काउन्सिलको आयोजनामा सम्पन्न मिस इन्डिया वल्र्ड वाइड नेपाल-२०१० बाट भारतीय मूलका नेपालीहरूले मिस इन्डिया वल्र्ड वाइड प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाउने कार्यको पनि थालनी गरेका छन्। जसअन्तर्गत २०१० मा वत्सला शर्माले तथा रोमी शाहले २०११ को मिस इन्डिया वल्र्ड वाइड प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। नेपलिज काउन्सिलकै आयोजनामा सम्पन्न लिटिल मिस वल्र्ड नेपाल शीर्षकको प्रतियोगितामार्फत विजेताले लिटिल मिस वल्र्ड-२०११ मा सहभागिता जनाउन पाउने ढोका खोलिएको छ। लिटिल मिस वल्र्ड २०११ मा विपश्वी पौडेलले प्रतिनिधित्व गरेकी थिइन्। नेपालले सन् २०१० देखि मिस ग्लोबल ब्युटी क्विन नामक अर्को अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पनि सहभागिता जनाउन थालेको छ। ई.एस. क्रिएसन प्रा.लि.को आयोजनामा सम्पन्न मिस ग्लोबल ब्युटी क्विन नेपाल-२०१० को ताजसँगै सेलिना मोक्तानले ग्लोबल ब्युटी क्विन-२०१० मा सहभागिता जनाएकी थिइन्। उक्त प्रतियोगितामा यसपटकको नेपाली संस्करणकी विजेता इभिता ताम्राकारले प्रतिनिधित्व गर्नेछिन् । दुई पटक उपस्थिति जनाउने सुन्दरीहरू त्यसो त मिस नेपाल प्रतियोगिताका विजेता, उपविजेता तथा नेपाली संस्करणको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका ताज विजेताहरूले नै सम्बन्धित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउने ट्रेन्ड रहिआएको छ। यद्यपि केही युवतीले दुई पटक अर्थात् दुई फरक-फरक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएको रेकर्ड छ। यसरी दोहोरो प्रतिनिधित्व जनाउने क्रममा ऋचा थापा मगरले मिस टुरिज्म क्विन इन्टरनेसनल -२००९ मा र सोही वर्ष मिस नेपाल-२००९ मा फस्ट रनर अपका रूपमा मिस अर्थ-२००९ मा नेपालको प्रतिनिधित्व गरिन्। यसैगरी कुन्छाङ मोक्तानले मिस टुरिज्म क्विन इन्टरनेसनल-२००७ मा र मिस नेपाल-२००९ को सेकेन्ड रनर अपका रूपमा मिस एसिया प्यासिफिक इन्टरनेसनल-२००९ मा सहभागिता जनाएकी थिइन्। यसैगरी मिस नेपाल-२००९ की विजेता जेनिशा मोक्तानले मिस वल्र्ड-२००९ मा र सोही वर्ष ब्युटी अफ द वल्र्ड-२००९ मा सहभागिता जनाइन्। यसैगरी मिस नेपाल-२०१० की फस्ट रनर अप सहाना बज्राचार्यले मिस अर्थ-२०१० मा र यसै वर्ष मिस एसिया प्यासिफिक वल्र्ड-२०११ मा सहभागिता जनाइन्।
केही उल्लेखनीय उपलब्धि
सन् १९९० देखि अन्तर्राष्ट्रिय सौन्दर्य तथा बौद्धिकतासम्बन्धी प्रतियोगितामा नेपालको उपस्थिति रहिआएको देखिन्छ। यद्यपि तीमध्ये एकाध उपस्थिति मात्र उपलब्धिका दृष्टिले उल्लेखनीय छन्। बाँकी उपस्थिति जनाउने र अनुभव संगाल्ने बाहेक हात लाग्यो शून्यको स्थितिमा छन्। अन्तर्राष्ट्रिय सौन्दर्य तथा बौद्धिकतासम्बन्धी विभिन्न प्रतियोगितामा नेपालका तीन वटा उपस्थिति मात्र उल्लेखनीय छन्। सन् २००३ मा आयुषा श्रेष्ठले वल्र्ड मिस युनिभर्सिटीको मुख्य उपाधि जितेकी थिइन् भने सन् २००६ मा मिस्टर एण्ड मिस युनिभर्सिटी इन्टरनेसनलमा नीरज बरालले मिस्टर युनिभर्सिटी इन्टरनेसनलको उपाधि जितेका थिए। यसैगरी हालै मात्र टर्कीमा सम्पन्न लिटिल मिस वल्र्ड-२०११ मा नेपालका तर्फबाट सहभागी भएकी विपश्वी पौडेलले लिटिल मिस वल्र्डको ताज पहिरिएर नेपालको गौरवलाई उच्च बनाउन थप योगदान दिएकी छिन्। यी महत्वपूर्ण उपलब्धिबाहेक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा केही अन्य उपलब्धि पनि नेपाली युवायुवतीले हात पारेका छन्। जसअन्तर्गत २००७ को म्यानहन्ट इन्टरनेसनलमा चन्दन अग्रवालले मिस्टर पर्सनालिटी तथा २००८ को म्यानहन्ट इन्टरनेसनलमा रिकेश श्रेष्ठले मिस्टर प|mेन्डसीपको अवार्ड जितेका थिए। लामो समयदेखि निरन्तर रूपमा प्रतिनिधित्व हुँदै आएको मिस वल्र्ड प्रतियोगितामा भने हालसम्म कुनै प्रकारको चमत्कार हुन सकेको देखिँदैन। सन् २००३ को मिस वल्र्डमा भने उक्त वर्षकी मिस नेपाल प्रीति सिटौलालाई वेस्ट डे्रस राउन्डको रिहर्सलमा मिस वल्र्डका रूपमा भोटिङ गरिएको थियो। यसैगरी मिस एसिया प्यासिफिकतर्फ सन् २००३ मा प्रतिनिधित्व गरेकी प्रेरणा शाह उत्कृष्ट दसभित्र पर्न सफल भएकी थिइन्। सन् २००५ को मिस एसिया प्यासिफिकको ट्यालेन्ट राउन्डमा प्रतिनिधित्व गरेकी सराह गुरुङले वेस्ट नेसनल कस्ट्युमको अवार्ड जितेकी थिइन्। २००५ मै मिस अर्थमा सहभागी भएकी सभोना श्रेष्ठ पिपुल्स च्वाइसअन्तर्गत टप टेन भित्र परेकी थिइन्। यसैगरी गत वर्ष सम्पन्न मिस एसिया प्यासिफिक वल्र्डमा सहाना बज्राचार्यले उत्कृष्ट १५ सम्मको यात्रा तय गरेकी थिइन्।
अनुभवीका कुरा
सन् २००३ मा वल्र्ड मिस युनिभर्सिटीको मुख्य उपाधि जितेर नेपाल र नेपालीको शान, मान र सम्मानलाई विश्व मञ्चमा अझ उचाइमा पुर्‍याएकी आयुषा श्रेष्ठको विचारमा सुन्दरता र बौद्धिकता मापनको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको उपस्थिति उल्लेख्य उपलब्धिमा परिणत हुन नसक्नुका पछाडिको मुख्य कारण यहाँको तयारी, प्रशिक्षण एवं गु्रमिङ सीमित स्रोत-साधनबीच सम्पन्न हुनु हो। प्रतियोगीमा बढी मनोवैज्ञानिक दबाब पर्ने हुँदा परिणाम उल्लेख्य हुन नसकेको आयुषाले बताइन्। पूर्व मिस नेपाल सुगरिका के.सी. पनि आयुषाको भनाइसित धेरै हदसम्म सहमत देखिइन्। यसपटकको मिस नेपाल प्रतियोगिताकी ट्रेनर सुगरिकाले मिस वल्र्डमा आफ्नो सहभागिताको अनुभवलाई आधार मानेर अभिव्यक्ति दिने क्रममा भनिन्-’यहाँको आयोजक संस्था वा एजेन्सी आफैंलाई यहाँको आयोजनालाई राम्रोसँग प्रस्तुत गर्न बजेट व्यवस्थापनमा केही हदसम्म कठिनाइ सामना गर्नुपर्ने भएकाले कार्यक्रमपछि विजेता हुनेलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि थप ग्रुमिङका लागि बजेट जुटाउन वा दिल खोलेर खर्च गर्न गाह्रो हुन्छ। परिणामस्वरूप थुपै्र कुरामा प्रतियोगी आफैंले आर्थिक भार समेत बेहोर्नुपर्ने हुन्छ जसले गर्दा ऊ एक किसिमको तनाव र दबाबबाट गुज्रनुपर्ने हुन्छ। डे्रसिङ, मेकअप, अपेरियन्स आदि कुरामा तुलनात्मक रूपमा अन्य देशकाले भन्दा कम्प्रोमाइजको दृष्टिबाट तयारी गर्नुपर्ने भएकाले त्यसबाट प्रतियोगीको आत्मविश्वासमा प्रभाव पर्छ। फलतः उसको पर्फमेन्स पनि प्रभावित हुन पुग्छ।’ सुगरिकाका अनुसार ग्रुमिङका लागि सीमित व्यक्ति र विज्ञको उपलब्धता पनि हाम्रा लागि माइनस प्वाइन्ट हो। यहाँ आयोजना हुने कार्यक्रमको तयारी एवं प्रशिक्षणका लागि समय पनि अपुग रहेको र उपलब्ध समयमा धेरै कुरा गर्नुपर्ने भएकाले पनि प्रतियोगीले सोचेअनुरूप ग्रुम हुन नपाउने सुगरिकाको कथन छ । कोरियोग्राफर एवं म्यानहन्ट इन्टरनेसनलमा नेपालको तर्फबाट पहिलो पटक सहभागी भएका प्रशान्त ताम्राकारका अनुसार ग्रुमिङका लागि आवश्यक समय अपुग रहेकाले पनि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति प्रायः उपस्थितिमै सीमित रहन पुगेको हो। ताम्राकार भन्छन्-’जहाँ एकजना व्यक्तिलाई साधारण दृष्टिले ग्रुम गर्न चारदेखि छ सातासम्म समय खर्चिनुपर्छ, यहीँ एउटा प्रतियोगीले त्यही समयसीमाभित्र आफूलाई मानसिक, शारीरिक तथा बौद्धिक रूपमा ग्रुम गर्नुपर्ने हुन्छ। जुन सबै दृष्टिबाट अपुग समय हो। ताम्राकारका अनुसार नेपालमा अन्तर्राष्ट्रिय परिवेशलाई ध्यानमा राखेर ग्रुमिङ गर्ने शैली वा ग्रुम गर्ने विज्ञको पनि सीमितता छ र त्यसमा पनि आर्थिक सम्झौता गर्नुपर्ने स्थितिले यो प्रक्रिया गहिराइमा भन्दा बेसिक इन्फर्मेसनमा सीमित हुन पुग्छ। त्यसले धेरै प्रभाव पार्ने ताम्राकारको बुझाइ छ। नेपालका लागि मिस इन्डिया वल्र्ड वाइड तथा लिटिल मिस वल्र्ड प्रतियोगितामा सफलता हात पारेको संस्था नेप्लिज काउन्सिलका दीपेन्द्र रत्न शाक्य आयोजकका नाताले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने प्रतियोगीसँगै आफू पनि जाने गरेको बताउँछन्। शाक्यका अनुसार यसबाट प्रतियोगीलाई मोरल सपोर्ट प्राप्त हुन्छ। फलतः प्रतियोगीले आफूलाई ढुक्क राख्न सक्छ। नयाँ ठाउँमा एक्लो र त्यसमा पनि धेरै जना प्रतियोगी र प्रतिस्पर्धाको दबाबमा आफूले चिनेको व्यक्ति साथमा हुनाले प्रतियोगीलाई मनोवैज्ञानिक दृष्टिबाट पनि सुरक्षा र सहयोग प्राप्त हुने शाक्य बताउँछन्। इमिग्रेसन, चेक इन, चेक आउट, फ्लाइट डिटेलल जस्ता स-साना कुराको समेत जानकारी प्रदान गरेर प्रतियोगीलाई ढुक्क र सहज बनाउनु आयोजकको जिम्मेवारी भएको दीपेन्द्रको कथन छ। अन्तर्राष्ट्रिय परिवेशमा प्रतिस्पर्धा कसरी आयोजना हुन्छ, मूल्यांकनको तरिका र आधार आदिका विषयमा पनि हाम्रा आयोजकहरूलाई राम्रो जानकारी हुनु जरुरी छ। यहाँको प्रतियोगिताको तयारीदेखि नै यस विषयमा प्रतियोगीहरूलाई बुझाउनुपर्ने र त्यहीँकै फम्र्याटमा यहाँ पनि कार्यक्रम संचालन गर्न सके अझ प्रभावकारी हुने दीपेन्द्रको बुझाइ छ ।


नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा उभिन पाउनु आफैंमा गर्वको विषय भएकाले प्रतियोगीले आफ्ना तर्फबाट बढी तयारी गर्नुपर्ने प्रशान्त बताउँछन्। पूर्व मिस नेपाल सुगरिकाले भने आफूले प्रतिस्पर्धा गर्नर्े प्रतियोगिताका बारेमा राम्ा्रो जानकार हुनुपर्ने बताइन्। मिस वल्र्डका सम्बन्धमा उनले उक्त प्रतियोगितामा सुन्दरताको प्रश्न पहिलो हुने भएकाले आफ्नो सम्पूर्ण व्यक्तित्वको आकर्षणमा अत्यन्त संवेदनशील हुनुपर्ने बताइन्। प्रतियोगिताको मूल्यांकन परिधि विभिन्न चरण हुँदै अघि बढ्ने भएकाले सबै चरणमा आफ्नो बलियो उपस्थिति र दाबेदारी राख्न सके मात्र प्रतियोगीको उपस्थितिले राम्रो प्रभाव पार्न सक्ने पूर्व मिस नेपाल केसीले बताइन्। ब्युटी विथ पपर्स, बीच ब्युटी, भोटिङ, ट्यालेन्ट राउन्ड, वेस्ट ड्रेस राउन्ड, स्वीम सुट राउन्ड सबैको महत्वपूर्ण भूमिका हुने भएकाले ती सबैमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउनुपर्छ। त्यसमा पनि आफ्नो पकड र आफूले परिश्रम गरेर उपलब्धि हासिल गर्न सक्ने राउन्डमा अझ बढी प्रयास गर्नुपर्ने उनको कथन छ । आयुषा श्रेष्ठले पनि उक्त कुरामा सहमति जनाइन्। उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने राष्ट्रको विमानस्थलमा अवतरण गरेसँगै प्रतियोगीको मूल्यांकन प्रक्रिया प्रारम्भ हुन्छ। देशकै प्रतिनिधित्व गरिने भएकाले प्रतियोगीले परिपक्व व्यवहार तथा आचरण अपनाउनुपर्ने उनले बताइन्। अन्य मुलुकका प्रतियोगी, उताका आयोजक एवं संचारकर्मीहरूसित प्रस्तुत हुने शैली, बोली, बानी, व्यवहार आदि कुराले धेरै महत्व राख्ने श्रेष्ठको अनुभव छ। आफू कुन रूपमा र कसरी प्रस्तुत हुने विषयमा प्रतियोगी निकै सजग हुनुपर्ने आयुषाले बताइन्। आत्मविश्वासलाई कायम राख्दै सम्पूर्ण व्यक्तित्वलाई सकारात्मक रूपमा प्रस्तुत गर्न सक्नु ठूलो चुनौती हो तर त्यसलाई सही रूपमा कार्यान्वयन गर्न सके मात्र आफ्नो सम्भावना बढ्ने श्रेष्ठको अनुभव छ।

Ecollege Ad Ecollege Ad